काठमाडौँ,१६ बैशाख ।
नेपाल बार एसोसिएसनले सरकारसँग अध्यादेश फिर्ता लिन माग गरेको छ ।
बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गरी संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो । बारले भनेको छ, ‘संघीय संसद्को बैठकलाई स्थगित गरी नेपाल सरकारबाट सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रस्तुत गरिएको भनिएका अध्यादेशका सम्बन्धमा नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संसदीय प्रक्रियाद्वारा अनुप्राणित कानुन मात्र सर्वस्वीकार्य हुने बारले जनाएको छ । ‘जनविश्वास प्राप्त एवं सार्वभौमसत्ता प्रयोगको स्थल संघीय संसद् एवं संसदीय प्रक्रियाद्वारा अनुप्राणित कानुन मात्र सर्वस्वीकार्य र दीर्घकालीन हुने कुरामा यस एसोसएिसन विश्वस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।
संसद्लाई छलेर ल्याइने अध्यादेशले संविधानको मर्ममाथि प्रहार गर्ने र स्व्च्छातारितालाई बढावा दिने बारको ठम्याइ छ । ‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दुर्लभ अभ्यासलाई नियमित संसद् अधिवेशन आह्वान भइसकेपछि पुनःस्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसद्लाई छली अध्यादेश जारी गर्ने कार्यले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारितालाई बढावा दिने हुन्छ,’बारले भनेको छ ।
बारले तत्काल अध्यादेश फिर्ता लिन आग्रह गरेको छ। बारले भनेको छ, ‘यस्ता कार्य संविधानवाद प्रतिकूल छ । अतः उक्त अध्यादेशलाई तत्काल फिर्ता लिन नेपाल सरकारसमक्ष माग गर्दछौँ ।’








