अध्यक्ष ओलीविरुद्ध पार्टीभित्रैबाट आएका अभिव्यक्ति सच्याउन निर्देशन

काठमाडौँ,१३ बैशाख ।
नेकपा एमालेले पार्टी सदस्यभन्दा कम मत आएका निर्वाचन क्षेत्र, पालिका र वडाहरूमा पार्टी सदस्य वितरणको मापदण्डलाई कडाइका साथ पालना गर्ने भएको छ ।

‘त्यस्ता स्थानहरूमा आवश्यकताअनुसार सदस्यता नवीकरण सहजीकरण टोली निर्माण गरी खटाउन सक्नेगरी सदस्यता नवीकरणको कार्य अगाडि बढाउने,’महासचिव पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको निर्देशन प्रस्तावमा भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित मतपरिणाम आउनुमा पार्टीकै विभिन्न तहमा खटिएका नेताहरूको भूमिका रहेको चन्दै अब सदस्यता वितरणमा कडाइ गर्न निर्देशन दिएको हो ।

वैशाख १० गते बसेको पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श बैठकमा त्यसबारे छलफल भएको महासचिव शंकर पोखरेलले तल्लो तहमा पठाएको निर्णय कार्यान्वयन सम्बन्धी प्रस्तावमा उल्लेख छ ।

८ बुँदे सो निर्देशनमा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको विषयमा नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा दिएको अभिव्यक्ति गलत भएको ठहर गर्दै त्यसो नगर्न निर्देशन दिएको छ ।

‘पार्टीको विधि पद्धति र अनुशासनको ख्यालै नगरी जिम्मेवार नेता कार्यकर्ताहरूद्वारा सामाजिक सञ्जाल र सडकमा पार्टी नेतृत्व, नीति र निर्णयका विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति नदिन र पार्टीका औपचारिक कमिटीभित्र नै आफ्नो विचार राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशन गर्ने भएको छ,’निर्देशनमा भनिएको छ ।