काठमाडौँ,२८ चैत ।
अस्पतालको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ ।
जनस्वास्थ्य सेवा ऐन,२०७५ अनुसार ल्याइएको कार्यविधिअनुसार अब अस्पतालहरूले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेछ ।
कार्यविधिमा बिरामीको उपचार अभिलेख र फलोअप व्यवस्थित गर्न एकीकृत विद्युतीय प्रणाली विकास गर्ने, प्रयोगशाला प्रतिवेदन २४सै घण्टा उपलब्ध गराउने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध औषधि मात्र चिकित्सकले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै,बिरामीलाई रिफर गर्दा रिफर स्लिपसहित सरकारी अस्पतालमा पठाउनुपर्ने,आवश्यक औषधि सधैं मौज्दात राख्नुपर्ने र सेवा प्रवाहका बेला औषधि बिक्री प्रवर्द्धकलाई अस्पताल प्रवेशमा रोक लगाइएको छ ।








