काठमाडौँ,२७ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
देशका पहाडी तथा हिमाली भू-भागमा हाल साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।








