काठमाडौं,२२ चैत ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ ।
आज दुवै रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई भएको थियो ।
आज सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । आज निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब भोली सरकार पक्षका वकिलको बहस हुने जनाइएको छ ।
यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो ।
भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।






