काठमाडौँ,२१ चैत ।
गुण्डागर्दीविरुद्ध प्रहरीले अपरेसन चलाएको छ । गएराति प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । पक्राउ पर्नेमा धेरै ‘काभ्रेली समूह’मा आबद्ध गुन्डाहरू छन् ।
पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत छन् । सुरेश गुरुङ गुन्डा नाइके श्याम लामा समूहका सदस्य हुन् । सिन्धुपाल्चोक घर भएका श्याम लामा फरार छन् ।
थप ४ जना जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन् । प्रवीण तामाङ श्याम लामा समूहमा आबद्ध रहेर बौद्ध क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा सक्रिय गुण्डा हुन् । सुजन कार्की कलंकी क्षेत्र र हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।






