काठमाडौं,२० चैत ।
देशका धेरै स्थानमा भोलि (चैत २१) देखि फेरि वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन लागेको हो ।
यो प्रणालीको प्रभाव देशको पश्चिमी भूभागबाट देखिन सुरु हुनेछ । बिस्तारै देशैभरि प्रभाव पर्ने महाशाखाकी मौसमविद् विनु महर्जनले बताइन् ।
उक्त प्रणाली देशमा भित्रिइसकेको उनले जानकारी दिइन् । पश्चिमका केही भूभागमा आज (चैत २०) पनि हल्का वर्षाको सम्भावना रहेको उनकाे भनाइ छ ।
सिस्टम आजबाटै भित्रिइसकेको र आज रातिबाट नै अलिअलि पानीको सम्भावना रहेको उनलेे बताइन् ।
यसको प्रभाव भोलि पश्चिम नेपालका तीन प्रदेशमा बढी देखिने सम्भावना छ । “भोलिचाहिँ गण्डकी, कर्णाली र सुदूरपश्चिममा अलि बढी प्रभाव देखिनेछ, पर्सि (आइतबार) देशैभरि फैलिने हो,” मौसमविद् महर्जनले भनिन् ।
उनका अनुसार आइतबार (चैत २२) देशका धेरै स्थानमा वर्षा/हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन/चट्याङको पनि सम्भावना रहेको उनले बताइन् ।
“हिमाली भूभागमा मध्यम हिमपात, पहाडी भूभागतिरचाहिँ मध्यम वर्षाको सम्भावना हो पर्सिको लागि,” उनले भनिन्, धेरै हिमपात हुने त होइन, पहाडी र हिमाली भूभागमा मध्यमसम्म वर्षा हुने अनि हावाहुरी, मेघगर्जन/चट्याङ हुने सम्भावना छ ।”
आइतबार देशका पहाडी र हिमाली भूभागका सबै ठाउँमा यो प्रणालीको प्रभाव पर्ने उनले स्पष्ट पारिन् ।
पोहर सालको तुलनामा यसपालि प्रिमनसुनमा अलि बढी वर्षा भइरहेको छ । फागुन १५ देखि जेठ १५ (मार्च–मे)सम्म तीन महिनाको अवधिलाई प्रिमनसुन भनिने महाशाखाले जनाएको छ ।





