बुटवल,२० चैत ।
बुटवल उपमहानगरपालिका वडा नं.८ सुख्खानगरको धर्मपथमा बुटवल नियो क्लिनिक सञ्चालनमा आएको छ ।

विभिन्न शारीरिक तथा मानसिक अवस्था कमजोर भएका बालबालिकालाई एकै स्थानबाट थेरापीसहित उपचार सेवा दिने गरी ८० लाख लगानीमा शुक्रबारदेखि बुटवलमा नियो क्लिनिक सञ्चालनमा आएको हो ।

बालबालिकामा अटिजम,मस्तिष्क पक्षघात,डाउन सिन्ड्रोम,मांसपेशी डिस्ट्रोफी लगायत १५ प्रकारका समस्या भए नभएको पहिचान तथा थेरापि उपचार सेवा प्रदान गर्ने गरी क्लिनिक सञ्चालनमा आएको बुटवल नियो क्लिनिकका डाईरेक्टर तथा वरिष्ठ पिडियाट्रिक फिजियोथेरापिष्ट पुष्पा चक्रधरले जानकारी दिए ।

क्लिनिकमा बाल फिजियो थेरापी,बिहेभिएर थेरापी,अकुपेश्नल थेरापी र स्पिच थेरापी विशेषज्ञबाट सेवा प्रदान गरिने उनले बताए । दैनिक करिब २५ जना बालबालिकालाई सेवा दिईने चक्रधरको भनाई छ ।

कान्ति बाल अस्पतालका वरिष्ठ बाल स्नायु राेग विशेषज्ञ प्रध्यापक डाक्टर बिना प्रजापतिले क्लिनिकको उद्घाटन गरेकी हुन् ।

क्लिनिकको उद्घाटन गर्दै उनले बालबालिकाको क्षेत्रमा काम गर्न दक्ष जनशक्तिसँगै पारिवारिक टीम वर्कको आवश्यकता रहेको बताइन् ।

नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला श्रेष्ठले अटिजम तथा फरक क्षमता भएका बालबालिकाको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । निजी क्षेत्रबाट पनि अटिजम भएका बालबालिकाको क्षेत्रमा काम भएको बताउँदै उनलेे पछिल्लो समय समस्या बढ्दो रुपमा भएकाले सरकारले विशेष ध्यान दिन आवश्यकता रहेको बताइन् ।