काठमाडौँ,१९ चैत ।
नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको विचारलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ ।
पार्टीका शीर्ष नेताले नै बादलको अभिव्यक्ति एमालेको आधिकारिक धारणा नभएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बादलकाे विचार पार्टीको नीति, सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत रहेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका हुन् ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेलले बादलको सम्बोधनप्रति टिप्पणी गर्दै यसलाई पार्टीको स्थापित मान्यता विरुद्धको कदम भनेका छन् । ‘प्रतिनिधि सभाको आजको बैठकमा दल नेताको हैसियतले मा रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ पौडेलले फेसबुकमा भनेका छन् । उनले यस विषयमा केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय लिइने समेत जानकारी दिएका छन् ।
यसैगरी, उपमहासचिव योगेश भट्टराईले पनि पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) को व्याख्या गर्दै बादलको विचारको खण्डन गरेका छन् । भट्टराईले एमाले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजको रूपान्तरण गर्ने र जनमतको सम्मान गर्ने पार्टी भएको स्पष्ट पारेका छन् ।
बादलले सम्बोधनका क्रममा बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए ।
संसदीय दलको नेता बादलकाे अभिब्यक्तिलाई लिएर पार्टीका शीर्ष नेताहरूबाटै बिराेध गरिनुले पार्टी भित्र गुटबन्दीकाे प्रष्ट संकेत गरेको छ ।
दलको नेताको रूपमा संसदमा ब्यक्त विचारलाई शीर्ष नेताहरूबाटै बिराेध गरिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।








