काठमाडौँ,१६ चैत ।
सर्वोच्च अदालतले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

सोमबार सवोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश दिएको हो । पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन झिकाएकाे हो ।

सरकारले जेनजी आन्दोलनको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी यशोदा लेखकले चैत १५ मा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश दिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । पूर्वगृहमन्त्री लेखकलाई हिरासतमुक्त गर्ने आदेश दिन भने अस्वीकार गरेको छ ।

यसअघि चैत १५ मा प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो। जिल्ला अदालतले लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।