काठमाडौं,१६ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि रिहाइको माग गर्दै एमालेले देशव्यापी प्रदर्शन र विरोध कार्यक्रम जारी राखेको छ ।
एमालेले साेमबार पनि राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी राखेको हो । प्रहरीले ओलीलाई शनिबार बिहान गुण्डुस्थित ओलीनिवासबाटै पक्राउ गरेको थियो । पक्राउकाे विरोधमा एमालेले शनिबार र आइतबार दिनभर काठमाडौं उपत्यकामा प्रदर्शन र विरोध गरेको थियो । अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आइतबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
एमालेले ओलीको रिहाइका लागि सडक, संसद् र अदालत गरी तीनवटै मोर्चा प्रयोग गर्ने निर्णय गरिसकेको छ ।
आइतबार अध्यक्ष ओलीको रिहाइको माग गर्दै काठमाडौंको बानेश्नर, बबरमहल र माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुले दिनभर प्रदर्शन गरे । त्यस क्रममा प्रहरीले व्यापक दमन गरी एमालेका कार्यकर्ताहरुलाई घाइते बनाएको थियो । केहीलाई प्रहरीले पक्राउसमेत गरेको एमालेले जनाएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै श्रेष्ठको इजलासले केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न पनि आदेश दिएको थियो ।
म्याद थपका लागि प्रहरीले लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं अदालतमा पेस गरेको थियो भने पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत अदालतमा हाजिर गराइएको थियो ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ज्यानसम्बन्धी कसूरमा ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । लेखकलाई भने प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ ।








