काठमाडौँ,१५ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज देशका सबैजसो जिल्लामा प्रदर्शन गरेको छ ।

त्यसक्रममा एमालेले सबै जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष ओली पक्राउको विरोध र उनलाई रिहा गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेको थियो ।

अध्यक्षको पक्राउपछि बसेको एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

एमालेले ओलीको पक्राउविरुद्धमा आज राजधानी काठमाडौँ,रूपन्देही,पाल्पा,झापालगायत देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ ।

शनिबार बिहान आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ परेका ओलीलाई हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।