काठमाडौँ,१५ चैत ।
आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान भने कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ । अनि कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ ।

यस्तै आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए ।