काठमाडौं,१४ चैत ।
नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनालाई त्यसलाई राजनीतिक प्रतिशोधबाट प्रेरित कदम भन्दै कडा आपत्ति जनाएकाे छ ।

शनिबार जारी प्रेस विज्ञप्तिमा तरुण दलका अध्यक्ष विद्वान गुरुङले उक्त कदमलाई एकपक्षीय र दुराशयपूर्ण निर्णयको संज्ञा दिँदै यसले लोकतान्त्रिक मूल्य–मान्यता माथि गम्भीर प्रहार गरेको बताएका छन् । उनले यस्ता गतिविधिले देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको चेतावनी दिएका छन् ।

तरुण दलले वर्तमान घटनाक्रमले राजनीतिक वातावरण झनै तनावग्रस्त बन्ने सम्भावना रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। संगठनले कानुनी प्रक्रिया र विधिसम्मत ढंगले मात्र यस्ता संवेदनशील विषयहरू अघि बढाउनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न,पारदर्शी र निष्पक्ष रूपमा कानुनी प्रक्रिया अघि बढाउन तथा राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरिएको छ ।

साथै, देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउनु सबै राजनीतिक शक्ति र सरोकारवालाको साझा दायित्व भएको स्मरण गराइएको छ । यसैबीच,ओलीको पक्राउपछि विभिन्न राजनीतिक दल र संगठनहरूले फरक–फरक प्रतिक्रिया जनाइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यसलाई राजनीतिक प्रतिशोध भन्दै देशव्यापी आन्दोलन घोषणा गरिसकेको छ भने कानुन व्यवसायीहरूले अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्ने तयारी गरेका छन् ।

उता, स्वास्थ्य समस्याका कारण पक्राउ परेका ओली हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । तरुण दलले अन्त्यमा शान्ति,स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्य आवश्यक रहेको औंल्याउँदै राष्ट्रलाई अस्थिर बनाउने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने चेतावनी दिएको छ ।