काठमाडौ,१२ चैत ।
नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ ।

बिहीबार सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको हो ।

‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो,’ प्रवक्ता देवराज चालिसेले भने, ‘यसले पूर्णता बोकेको छैन ।’

२३ भदौको आन्दोलनका बारेमा प्रकाश पार्ने कोसिस गरे सरह २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेजस्तो देखिएको उनको भनाइ छ ।

‘प्रथम दृष्टिको कुरा हो यो । यद्यपि, त्यसलाई हामीले राम्रोसँग अध्ययन गर्न बाँकी छ,’ चालिसेले भने, ‘त्यो प्रतिवेदनलाई हामी सिरियसली हेर्छौं ।’

प्रतिवेदनको अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति बनाउने भएको छ ।

समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरेपछि कांग्रेसले आफ्नो दृष्टिकोण बनाउने प्रवक्ता चालिसेले बताए ।