बुटवल,११ चैत ।
बुटवल उपमहानगरपालिका,युएनडिपी, कोकाकोला फाउण्डेशन तथा वडा नं. ७ र ८ र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त सहकार्यमा बुटवलको शिवनगरमा फोहोर प्रशोधन गरी इँटा उत्पादन गर्ने कार्य सुरु भएको छ ।

मंगलबार मटेरियल रिकभरी फेसिलिटी (साम्रगी परिपूर्ति सुविधा) को बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, युएनडिपिका रेजिडेन्ट रिप्रिजेन्टेटिभ जुलियन शेभिलियार्डले एक कार्यक्रमका बीच उद्धघाटन गरे ।

देशभर फोहोर व्यवस्थापनको चुनौती बनिरहेको बेला बुटवलमा भने फोहोरबाट इट्टा बनाउन लागिएको हो ।

सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सुरुवाती चरणमा बुटवलको ७ र ८ वडाको फोहोर संकलन गरेर प्रशोधन गरिने बताए । फोहोरलाई प्रशोधन गर्दा बुटवलको वातावरण स्वच्छ, सफा र आकर्षक हुनुका साथै यसबाट रोजगारीको अवसर समेत सृजना हुने प्रमुख पाण्डेले बताए ।

‘दुई वडाको फोहोर प्रशोधन गर्ने क्रममा मात्रै ३६ जनाले प्रत्यक्ष रोजगारी पाएको पाएका छन् । प्रशोधन बुटवलका १९ वटाको गर्ने योजना रहेको छ, सबै वडाको फोहोर प्रशोधन गर्दा झण्डै ४ सय जनाले रोजगारी पनि पाउँछन्,’ उनले भने ।

युएनडिपिका रेजिडेन्ट रिप्रिजेन्टेटिभ जुलिष्न शेभिलियाडर्लले आफुहरु आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताउँदै सबैको सहकार्यमा मात्रै वातावरणलाई स्वच्छ राख्न सकिने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्याल,पूर्व नगरप्रमुख शिवराज सुवेदी, कोकाकोला फाउन्डेशनका सिनियर डारेक्टर जेफ्रि ग्यारी डयान्बी, कोकाकोलाका इन्डिया डारेक्टर आदित्य पाण्डा,रिजनल प्राइभेट सेक्टर पार्टनरशिप स्पेशलिस्ट रुची मोहन्ती, विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।