काठमाडौँ,५ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

रास्वपा शीर्षनेताहरूबीच बिहीबार साँझ भएको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ । छलफलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए ।

यस्तै, बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको शपथ ग्रहण तय गरेको थियो । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो ।

सांसदले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको जनाइएको छ ।

प्रतिनिधि सभाको सदस्यको शपथ तय भएसँगै रास्वपाका शीर्षनेता छलफलमा बसेका हुन् । आज भएको छलफलबारे जानकारी दिँदै रास्वपा उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटोसहित लेखेका छन्,‘राजकाज। आज साँझको छलफल ।’