काठमाडौं,२८ फागुन ।
देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो ।
विभागका अनुसार उदयपुर, चितवन, गोर्खालगायतका ठाउँमा थोरै समयका लागि मध्यमदेखि भारी वर्षा भएको छ भने गोर्खामा असिना समेत परेको छ ।
मेघगर्जन तथा चट्याङ्गसहित पानी पार्ने बादल अझै आकाशमा रहेकाले थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चट्याङ्ग र असिनाबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा पानी परिरहेकाले उपत्यकामा पनि साँझसम्म वर्षा हुने सम्भावना छ ।
उनले भने, “काठमाडौंमा पानी पार्ने बादल देखिइरहेकाले यहाँ पनि पानी पर्ने सम्भावना धेरै छ ।”
उनका अनुसार नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रहेको र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन सकेको छैन । साथै वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि पनि पर्याप्त रूपमा बढ्न नसकेको कारण प्रदूषण तल्लो वायुमण्डलमै सञ्चित भएको छ ।
यसका कारण केही दिनदेखि देशका धेरै स्थानमा तुवाँलो देखिएको उनले बताए । वर्षा भएमा यो तुवाँलो क्रमशः हट्दै जाने पनि मौसमविद्को भनाइ छ ।








