काठमाडौँ,२६ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए ।
मंगलरबा राति पौने ८ बजेसम्म १ करोड ५ लाख ८६ हजार ४५४ मत गणना गरिएको प्रवक्ता जीसीले बताए । जसमध्ये रास्वपाले ५० लाख ७१ हजार २७४, कांग्रेसले १७ लाख २२ हजार १२४, नेकपा (एमाले)ले १४ लाख ३२ हजार ६ सय, नेकपाले ७ लाख ८५ हजार ४६०, श्रम संस्कृति पार्टीले ३ लाख ७० हजार ४९१ र राप्रपाले ३ लाख २७ हजार ३५८ मत पाएको छ ।
मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने आयोगले जनाएको छ । अन्तिम परिणाम बुधबार बिहान नभए दिउँसोसम्म सार्वजनिक हुने आयोगको अनुमान रहेको उनले बताए ।
‘समानुपातिकतर्फ आज बिहानसम्म १२-१३ निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा थियो । त्यो बाहेक अरु सबै निर्वाचन क्षेत्रको परिणाम आइसकेको थियो,’ प्रवक्ता जीसीले भने, ‘तीन-चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा रहेको छ । आज मध्यराति वा भोलि बिहानसम्ममा सबै निर्वाचन क्षेत्रको परिणाम आइसक्छ भन्ने जानकारी आएको छ ।’
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने प्रवक्ता जीसीको भनाइ छ ।
त्यस्तै, औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको छ । यो बढ्न सक्ने उनको भनाइ छ । ‘मैले हेर्दा केही जिल्लामा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखेको छु । तर गत निर्वाचनको समेत डेटालाई अध्ययन गर्दा सरदर ५ प्रतिशत मत बदर हुन्छ कि भन्ने छ,’ उनले भने ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दललाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्नेछ । त्यसपछि समानुपातिक सांसद चयन हुनेछन् । समानुपातिकको मत गणना सम्पन्न भइसकेपछि राजनीतिक दललाई सिट बाँडफाँडको लागि हामी पत्राचार गर्ने उनले बताए ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ र नेकपा (एमाले) ले ९ सिट जितेको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । समानुपातिकतर्फ समेत रास्वपाले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ ।








