काठमाडौँ,२४ फागुन ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण यतिबेला (आइतबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भेगको आकाशमा आंशिक बादल छ । अनि तराईका केही स्थानमा हुस्सु लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
महाशाखाका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा बादल लाग्ने सम्भावना छ ।
यस्तै राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बागमती प्रदेशका पहाडी र हिमाली भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ । अनि तराईका थोरै स्थानमा तुँवालो रहने जनाइएको छ ।





