काठमाडौ,२० फागुन ।
निर्वाचन सुरक्षामा खटिएका १२ प्रहरीसहित १४ जनाको मृत्यु भएको छ ।

विभिन्न जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका प्रहरी तथा कर्मचारीहरूको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको हो ।

कञ्चनपुरमा निर्वाचन ड्युटीमा रहेका ३५ वर्षीय मानसिंह राना पनि अचेत भएपछि अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।

बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ भने मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको ज्यान गएको छ ।

यस्तै, रामेछापमा सवारी दुर्घटनामा परेर एक प्रहरी सहायक निरीक्षक (असई) र मतदान अधिकृतको समेत मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र एक जना असईको मृत्यु भएको छ । विभिन्न जिल्लामा भएका यी घटनाले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ ।