काठमाडौँ,१७ फागुन ।
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् ।
उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश प्रकाश जगेबुले प्रसाईँ पक्राउ परेको पुष्टि गरे ।
उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन् ।
राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए ।
पछिल्लोपटक उनी यही फागुन ४ गते पक्राउ परेर सर्वोच्चको आदेशमा १३ गते रिहा भएका थिए ।
प्रसाईँलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका थिए ।
विवादास्पद मेडिकल व्यवसायी प्रसाईँसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन् ।








