काठमाडौँ,१५ फागुन ।
आज (शुक्रबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपातकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ ।
आज काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षाको सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।
‘अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षा हुने सम्भावना छ’, उनले भनिन्, ‘खण्डित वर्षा भनेको ठाउँठाउँमा मात्र पानी पर्ने सम्भावना हो ।’
मौसमविद् महर्जनका अनुसार वर्षा हल्का किसिमको मात्रै हुनेछ । अहिले बिहान भने काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ ।
‘अहिले यहाँको भिजिबिलिटी १५ सय मिटर मात्र छ’, उनले भनिन्। यो भिजिबिलिटीले हवाई उडानमा समस्या पार्न सक्छ।
यस्तै राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ ।








