काठमाडौँ,१३ फागुन ।
स्याङ्जा, कञ्चनपुर र कैलालीमा प्रहरीले विभिन्न अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका-१ जिरोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुलसहित २७ वर्षीय अनिस थापा र एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका-८ स्थित कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १ ग्राम ३३० मिलिग्रामसहित २० वर्षीय दिपेश रानालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचुइबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-२ बैजनाथ टोलबाट पनि अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ५० मिलिग्रामसहित २९ वर्षीय कनैया चौधरी र अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।