दाङ,९ फागुन ।
दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहारी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर –६ का २४ वर्षीय बिक्रम परियारलाई शुक्रबार राति पक्राउ गरेको जानकारी दिएको हो ।
प्रहरीले यसअघि तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि दाङ तुलसीपुरको वीरेन्द्र चोकका भेला भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए । उक्त भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।
रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ, भने शुक्रबार बेलुका दाङको तुलसीपुर काठमाडौंलगायत विभिन्न ठाउँमा मसाल जुलुस तथा विरोध र्याली निकालेका थिए ।
झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ ।








