बुटवल,८ फागुन ।
पुर्व राजा ज्ञानेन्द्र शाहबाट ७६ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशप्रति नेपाली कांग्रेस (विपी) ले ऐक्यबद्धता जनाएको छ ।

नेपाली कांग्रेस (विपी) का सभापति सुशिलमान शेरचनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरि प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहबाट देशवासीका नाममा जारी सन्देशमा देशको बर्तमान अवस्थाकाे यथार्थ चित्रण गरेको भन्दै साे सन्देशप्रति ऐक्यबद्धता जनाउँदै स्वागत गरेको हो ।

पुर्व राजा ज्ञानेन्द्रले रास्टृिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जान उचित हुने सल्लाह दिएको भन्दै विज्ञप्तिमा सर्व सहमती बिना निर्वाचनमा जानुको कुनै तुक नहुने निष्कर्षका साथ पार्टीले यसअघिनै निर्वाचन स्थगन गरेको स्मरण गराएको छ ।

वर्तमान राजनीतिक परिदृश्यमा बढ्दो अस्थिरता,नीति दिशाहीन तथा नागरिकमा छाएको निराशा बीच आएको पुर्व राजाको यो ऐतिहासिक सन्देशले राष्ट्रलाई गम्भीर मन्थनतर्फ उन्मुख गराएको भन्दै विज्ञप्तिमा सन्देशले स्पष्ट रूपमा राष्ट्रिय सहमतिको आवश्यकता,सहमति र न्युनतम साझ एजेन्डा बिना गरिने निर्वाचनले देशलाई थप विग्रह । द्वन्द्वमा धकेल्नेतर्फ सचेत गराएकाे उल्लेख छ ।

देशको वर्तमान अवस्था र निर्वाचन बारे आफ्नो पार्टीको धारणा पनि पुर्व राजाको धारणा समान रहेको उल्लेख गर्दै विज्ञप्तिमा सत्ताको लुछाचुडीबाट माथि उठेर राष्ट्रिय हितका लागि सबै राजनीतिक शक्ति,नागरिक समाज र सराेकावाला पक्ष एकै ठाउँमा उभिनु अहिलेकाे अपरिहार्य आवश्यकता भएकोमा जाेड दिइएको छ ।