काठमाडौं,८ फागुन ।
सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

केही दिनअघि वृद्ध पुरुषमाथि एक प्रौढ व्यक्तिले मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंगलबार उक्त कार्यमा संलग्न बमलाई पक्राउ गरी प्रहरीको जिम्मा लगायो । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । कानूनी व्यवस्था अनुसार परिसरले जिप्रकाबाट सात दिन म्याद लिएर अनुसन्धान गरेको होे । प्रवक्ता भट्टराईका अनुसार आज सरकारी वकिलको कार्यालयमा बमको बयान भइरहेको छ ।

नेपालको मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी कानूनी व्यवस्था रहेको छ । यस दफाअनुसार कुनै पनि व्यक्तिले सार्वजनिक स्थलमा कसैलाई गालीगलौज, कुटपिट वा अश्लिल व्यवहार गरेको खण्डमा त्यसलाई अभद्र व्यवहार मानिन्छ । यस्तो कार्य गरेको प्रमाणित भएमा अधिकतम १ वर्षसम्म कैद वा १०,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । यदि यो व्यवहार यौनिक दुव्र्यवहारसँग सम्बन्धित छ भने दफा २२२ अन्तर्गत थप कडा सजाय हुन सक्छ ।

स्थानीय प्रशासन ऐन अनुसार अभद्र व्यवहारसम्वनधी मुद्दा सामान्यतया प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन् । सजाय पनि उनले नै तोक्ने ब्यवस्था छ ।

बैतडी घर भएका ४२ वर्षिय बम हाल बालुवाटार बस्छन् । उनी आफ्नी सालीसहित कारमा सवार हुँदै गर्दौ रक्सी खाएका वृद्धले हैरानी दिएका थिए । बमकी सालीले एउटा भिडिओ जारी गर्दै रक्सीले मातेका व्यक्तिले सुरुमा आफूहरुमाथि दुव्यर्वहार गरेको बताएकी छन् ।

‘सुरुमा भिनाजुलाई गाली गलौज गर्ने र थुक्ने काम गर्यो । त्यसपछि मलाई पनि अश्लिल गालीगलौज र सत्तोसराप गरेपछि सहन नसकेर भिनाजुले दुई झापड हान्नुभएको छ,’ उनले भनेकी छन् ।