काठमाडौँ,६ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनको विपक्षमा देखिएका छन् । उनलेे निर्वाचन अघि राष्ट्रिय समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले भिडियो सन्देशमा जारी गरी मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका हुन् ।
उनले भने, “प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया भए पनि अहिलेको आम जनभावना यही छ कि राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनमा जानु उचित हुनेछ ।” उनले निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारीपूर्वक अघि बढिनुपर्ने पनि जोड दिए ।
पूर्वराजाले मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्ने अवस्था दुखद् भएको उल्लेख गर्दै, “मिलेर अघि बढ्दा मात्र देशलाई नयाँ गति दिन सकिन्छ ।” उनले नागरिक सचेत र जागरुक नभएसम्म प्रजातन्त्र बलियो नहुने बताए ।
त्यसैगरी, उनले वर्तमान अस्थिरता, अन्योल र देशको अस्तित्व संकटमा परेको अनुभव आम नेपालीले गरिरहेको बताए र विगतका आन्दोलन र राजनीतिक परिवर्तनले के हासिल गरायो भन्ने आत्मसमीक्षा गर्नुपर्ने औंल्याए ।








