काठमाडौ,२७ माघ ।

रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाका अनुसार दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ ।

उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको थियो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।

प्रजिअ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको प्रजिअ थापाले बताए ।

सडकबाट खसेको बस नदीमा डुबेको थियो ।

मृतकहरू

) दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।

२. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।

३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।

४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।

५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।

६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।

७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।

८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।

९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।

(अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको)