काठमाडौँ,२६ माघ ।
राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
बैठकमा मन्त्री सिन्हाले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताए ।
उता,राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ ।
सरकारको सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो । आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरेको थियो ।
यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गरेकी थिइन् ।
राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । विधेयकमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
आजको बैठकमा समितिकी सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो । त्यसपछि विधेयक फिर्ताका लागि माघ २१ गते पत्राचार गरेको थियो । त्यसअघि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिनका लागि मन्त्रालयलाई स्वीकृति दिएको थियो ।
गत वर्ष राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादमा आएको थियो । सामाजिक सञ्जाललाई कस्ने गरी ल्याएको भन्दै विरोध भएपछि सरकारले अगाडि बढाएको थिएन ।
गत भदौमा भने सरकारले विधेयकलाई अगाडि बढाउन खोजेको थियो । त्यही वेला सामाजिक सञ्जालमा प्रतिधबन्ध लगाएपछि जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनसँगै सरकार ढलेपछि विधेयक अघि बढ्न सकेको थिएन ।
नेपालमा सामाजिक सञ्जाल सम्बन्धी छुट्टै कानुनी व्यवस्था छैन । अब सामाजिक सञ्जाल सम्बन्धी कानुनी व्यवस्था गर्न सरकारले नयाँ विधेयक ल्याउनुपर्नेछ ।
यसैगरी बैठकले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ २८ गते दिउँसो सवा १ बजे बस्नेछ ।








