सुर्खेत,२४ माघ ।
सुर्खेतमा हो-हल्ला गर्दै बाइक चलाउने ‘खतरनाक खोपडी’ समूहका २५ युवा पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल आतंक मच्चाएको भन्दै प्रहरीले ‘खतरनाक खोपडी (द ड्यान्जरस स्कूल)’ नामक युवा समूहका २५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रशासनको अनुमति बिना उनीहरूले मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको प्रहरीको आरोप छ ।

उक्त समूहका युवाहरूले कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै हो–हल्ला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिकै तीनकुने चोक हुँदै सो समूह धुलियाबिटतर्फ जाँदै थियो ।

उनीहरूले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा आएका २५ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।