बुटवल,१७ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्थविद् प्रा डा गाेविन्द राज पाेखरेलले जेनजी युवाहरूले उठाएका मुद्दा सम्बाेधन गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस प्युठान-रूपन्देही सम्पर्क समाजद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पाेखरलले नेपालकाे विकासको गति र युवाले चाहेको विकासको गतिमा तालमेल नमिल्दा जेनजी विद्रोह भएको भन्दै जेनजी पुस्ताले उठाएका मुद्दा सम्बाेधन गर्न पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका हुन् ।

गिजाेलिएकाे अन्तर्राष्ट्रिय सम्बन्धलाई सहि ट्रयाकमा ल्याउन र देशको विकास र समृद्धिका लागि कांग्रेसले जित्न जरुरी रहेको भन्दै उनलेे देशमा विकासको खाका काेर्ने र विकासको जग बसाल्ने काम कांग्रेसकै अगुवाइमा भएको दाबी गरे । कम्युनिस्ट माेडेलको खाेक्राे राष्ट्र वादले देशको विकास नहुने भन्दै उनलेे देशको राष्ट्रियता बचाउन पनि कांग्रेसलाई जिताउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा रूपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पाैडेलले देशका भएको राजनीतिक परिवर्तन र विकासको जग बसाल्ने काम कांग्रेसकै अगुवाइमा भएको भन्दै बिग्रदाे मुलुककाे अवस्थामा सुधार गर्न कांग्रेसलाई जिताउनुपर्ने बताए ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरीले देशमा हाल विचार भन्दा प्राेगान्डा बेच्नुका साथै युवाहरूको ब्रेन ह्याक गर्ने कार्य भइरहेको भन्दै प्राेपाेगान्डाले देशको विकास नहुने बताए ।

समाजमा ब्याप्त नकारात्मक भावनालाई चिर्न र युवाहरूलाई ब्रेन ह्याक हुनबाट जाेगाउनु अहिलेकाे आवश्यकता भएको भन्दै उनलेे मुलुकको विकास र समृद्धिका लागि कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्नेमा जाेड दिए ।

नेपाली कांग्रेस रूपन्देही-प्युठान सम्पर्क समितिका अध्यक्ष महेश पाेखरेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्युठानका काेषाध्यक्ष दीपक केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पाेखरेल,सम्पर्क समितिका उपाध्यक्ष बाबुराम महत,सचिव बिष्णु खनाललगायतले आ आफ्नो भनाइ राखेका थिए ।