बुटवल,१६ माघ ।
नेपाली कांग्रेस रूपन्देही निर्वाचनमा क्षेत्र नं २ क्षेत्रीय समितिले
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार चुन्न प्रसाद पौडेलको चुनाव प्रचारप्रसारका लागि ८ हजार ५६५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।

शुक्रबार दिउँसो बुटवलको सुख्खानगरमा आयोजित क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालयको उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिको नेतृत्वमा ८ हजार ५६५ सदस्यीय निर्वाचन परिचालन मूल समिति घाेषणा गरेका हुन् ।

मुल समिति घोषणा गर्दै केन्द्रिय सदस्य कार्कीले क्षेत्रीय सभापति गिरीको नेतृत्वमा निर्वाचन परिचालन मूल समिति र ३२ वटा बिभिन्न उपसमिती गठन गरिएको बताउँदै अब कांग्रेस एकजुट भएर निर्वाचनमा केन्द्रीत हुने बताए ।

अब सपना बाढ्नेहरु तथा आश्वासन गर्नेहरुलाई उनीहरुको हैसियत देखिने बेला आएको उनलेे बताए ।

लुम्बिनी प्रदेशको राजधानी सार्न सहयोग गर्ने ब्यक्तिहरू काे काे हुन् भन्ने यश क्षेत्रका जनताले चिनिसकेकाे भन्दै उनलेे उनिहरू मत माग्न आएमा राजधानी गएर भोट माग्न जानुस भन्न नेता कार्यकर्तालाई आग्रह गरे ।

रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद पौडेलले निर्वाचनमा लोभ–लालच देखाउने प्रवृत्तिको आलोचना गर्दै खानेपानी, रेल र पानी जहाजजस्ता अव्यावहारिक आश्वासनबाट टाढा रहन आग्रह गरे । नेपाली कांग्रेस संघर्षको गर्भबाट जन्मिएको पार्टी भएको भन्दै उनलेे २००७ सालदेखि आजसम्मका सबै राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको स्मरण गरे ।

पौडेलले चुनावी प्रचारका क्रममा गालीगलौज नगरी सबैलाई दाजुभाइको रूपमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । “नेपाली कांग्रेस कसैलाई गाली गर्दैन, सबैलाई साथमा लिएर अघि बढ्छ,” उनले भने । गाली गरेर भोट नआउने उल्लेख गर्दै उनले सकारात्मक प्रचारमा जोड दिए ।

उनले पूर्व नगर प्रमुख तथा नेता सूर्यप्रसाद प्रधान र पूर्व मन्त्री बालकृष्ण खाँडले यस क्षेत्रमा गरेका विकास निर्माणका कामहरूलाई अझ प्रभावकारी रूपमा जनतामाझ लैजानुपर्ने बताए । उनीहरूले गरेका योगदानहरू ओझेलमा परेको भन्दै ती कामहरूको निरन्तरता र अनुसरण गर्दै अघि बढ्ने अहिलेको आवश्यकता रहेको पौडेलको भनाइ थियो । नेपाली कांग्रेसको इतिहासमा हरेक ठूला परिवर्तन कांग्रेसकै पालामा सम्भव भएको दाबी गर्दै पौडेलले यसपटक पनि जनताले कांग्रेसलाई विश्वास गर्ने दृढ विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्राजापाल गिरिले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले जनताले खोजेको चरित्र र नेतृत्व भएको उम्मेदवार चुन्नप्रसाद पौडेललाई अघि सारेको बताएका छन् । उनले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गर्दै वि.सं. २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा संविधान निर्माण सम्पन्न भएको उल्लेख गरे ।

अघिल्ला चार सरकारले गर्न नसकेको ऐतिहासिक जिम्मेवारी कांग्रेसले पूरा गरेको भन्दै त्यसपछिका कांग्रेस नेतृत्वका सरकारहरू मुख्यतः निर्वाचन सम्पन्न गराउने दायित्वमा केन्द्रित रहेको उनको भनाइ थियो । सभापति गिरिले पछिल्ला सरकारहरूको असफल नीतिका कारण युवाहरू रोजगारीका लागि कतार, अमेरिका र युरोप पलायन हुन बाध्य भएकोप्रति दुःख व्यक्त गरे । अब यी सबै समस्याको समाधान गर्ने समय आएको भन्दै कांग्रेस त्यसतर्फ केन्द्रित हुने उनले बताए ।

पार्टी एकताको सन्देश दिँदै उनले हाल नेपाली कांग्रेस “एक ढिक्का” भएर चुनावी मैदानमा उत्रिएको बताए । सिफारिस गरिएका नौ उम्मेदवारमध्ये जसले टिकट पाए पनि सबैले स्वीकार गरी जिताउने प्रतिबद्धता गरेको उनको भनाइ थियो । यसपटक कांग्रेसले आफ्नै प्रधानमन्त्रीको उम्मेदवारसहित १६५ वटै निर्वाचन क्षेत्रमा ‘रुख’ चिन्हमा भोट हाल्न पाउने वातावरण बनेको दाबीसमेत गरे ।

सो अवसरमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले देशभर नै बहुमत ल्याउँदै पार्टि सभापति गगन थापाको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै जताततै रुखमा मतदान गर्न आग्रह गरे । लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जमुना ढकालले कांग्रेसले बहुमत ल्याउनेगरि सबैले माहोल बनाउन लाग्नुपर्ने बताईन् ।
नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति खड्कबहादुर महतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम क्षेत्रीय सचिव बिमलराज भट्टराईकाे सञ्चालनमा सम्पन्न भएको हो ।