बुटवल,१५ माघ ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले बुटवलको समग्र विकास र आर्थिक चलायमानताका लागि आफू उम्मेदवार बनेको बताएका छन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका पौडेललाई स्थानीयले ‘युवाको ढुकढुकी’का रूपमा हेर्ने गरेका छन् ।
सहनशील, सरल र सबै वर्गसँग घुलमिल हुने व्यक्तित्वका रूपमा परिचित पौडेल बुटवलकै पर्याय बनेका छन् । युवाको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित पौडेलले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र स्थानीय अर्थतन्त्र मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।
बुटवलको औद्योगिक, व्यापारिक र सेवा क्षेत्रलाई थप चलायमान बनाउन ठोस योजना अघि सारेको बताउँदै पूर्वाधार विकास, सडक विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको उनलेे उल्लेख गरे । “विकास केवल संरचना निर्माणमा सीमित हुनु हुँदैन, यसले नागरिकको जीवनस्तर उकास्नुपर्छ,” पौडेलले भने ।
युवालाई अवसर दिन सके मात्र समाज अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले सीपमूलक तालिम, स्टार्टअप प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिने बताए । सामाजिक सद्भाव, सहकार्य र समावेशी विकास नै बुटवलको भविष्य भएको उनको धारणा छ ।
स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वय गरेर दीर्घकालीन विकासका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले जनताको साथ र भरोसाले मात्र बुटवललाई समृद्ध शहरका रूपमा स्थापित गर्न सकिने बताए ।








