बुटवल,१४ माघ ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले सुस्ताएको बुटवललाई पुनः चलायमान बनाउने दृढ संकल्पका साथ आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

गुल्मी–रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित कार्यक्रममा पौडेलले बुटवलको आर्थिक, सामाजिक र विकासको गतिलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताए ।

उनले नेपाली कांग्रेस अब पुरानो सोचमा सीमित नभई गगन थापा र विश्वप्रकाश शर्माको टिमले अघि सारेको नयाँ राजनीतिक खाकासहित पुनर्निर्माणको यात्रामा लागेको उल्लेख गरे । सो टिमसँग आफ्ना भिजन, योजना र आइडिया साझा गर्दै बुटवललाई थप सक्षम, व्यवस्थित र अवसरमुखी सहरका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ थियो ।

पौडेलले बुटवल, सैनामैना र तिलोत्तमाका मतदाताले मतदान गरेर पठाएपछि ‘सही मान्छे छनोट गरिएछ’ भन्ने अनुभूति दिलाउने गरी काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

समाजसेवा, जनसम्पर्क र विकासप्रति इमानदार प्रयासकै कारण जनताको भरोसामा आफू खरो उत्रिने उनले बताए ।