दाङ,११ माघ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान कार्य सुरु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गरे ।
लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् ।
तीन सिटका लागि आठजनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनबाट तीनजना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीनजना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाको उम्मेदवारी दर्ता भएको हो ।
कांग्रेस र एमालेबीच तालमेल गरी उम्मेदवारी दर्ता गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपांगता तथा अन्य समूहको कोटा परेको छ ।
जसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार रहेका छन् । झाँक्री एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत हुन् ।
अपांगता कोटामा कांग्रेसबाट दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुंगा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार रहेका छन् ।
नेकपाले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ । महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपांगता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा छन् । राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उम्मेदवारी परेको छ । महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उम्मेदवार रहेका छन् ।
हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता छन् ।









