‘पीआर’ त्यागेको समय नपुगेपछि राप्रपाकी कर्भिका थापाकाे उम्मेदवारी फिर्ता,कालाेसुचिमा परेका कारण गुरूङकाे उम्मेदवारी रद्व !
बुटवल,९ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका मध्ये एक जनाको उम्मेदवारी रद्द भएको छ भने एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । उनलेे आज दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएकी हुन् ।
यसअघि उनलेे आजै एक प्रेस विज्ञप्ति जारी गर्दै कानुनी प्रावधानका कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेको जानकारी गराएकी थिइन् ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशको स्थायी आवास अनुमति (पीआर/ग्रीनकार्ड) त्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था छ । अध्ययनको क्रममा विदेशमा पीआर लिएकी थापाले उक्त कार्ड परित्याग गरेको तीन महिनाको अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिनु परेको स्पष्ट पारेकी छन् । उनले आफूले नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता नलिएको समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
कर्भिका राप्रपा नेता एवं पूर्व गृहमन्त्री निरन्जन थापाकी छोरी हुन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै अब यो क्षेत्रमा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल र नेकपाका विश्वदीप पाण्डेबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उता साेही क्षेत्रबाट उम्मेदवारी दिएकी कमला गुरूङकाे उम्मेदवारी रद्द भएको छ ।
सार्वभौम नागरिक पार्टीको तर्फबाट उम्मेदवारी दिएकी गुरूङ कालाेसुचिमा परेका कारण उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत राजेन्द्र न्याैपानेले जानकारी दिए ।








