नवलपरासी,८ माघ ।
नवलपरासी क्षेत्र नम्बर २ मा देखिएको कांग्रेसबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई उम्मेदवार मध्ये भिमबहादुर थापा (भरत) काे उम्मेदवारी कायम भएको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका भिमबहादुर थापा (भरत) काे उम्मेदवारी कायम भएसँगै उम्मेदवारीको विषयमा रहेको विवाद सल्टिएको हो ।
कांग्रेसको तर्फबाट थापाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिले उम्मेदवारी दर्ता गराएका थिए भने त्यस लगत्तै देबेन्द्रराज कँडेलले समेत कांग्रेसको उम्मेदवारको रुपमा उम्मेदवारी दिएपछि विवाद भएको थियो । थापाभन्दा पछि गएका कँडेलको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता नम्बर उल्लेख नगरी क्रमसंख्या मात्र राखेर निस्सा दिएको थियो ।
उम्मेदवारी विवादपछि आयोगले पहिलो दर्ता गर्नेलाई आधिकारिकता दिएपछि थापाको उम्मेदवारी कायम भएको हो । थापाको उम्मेदवारी कायम भएसँगै कँडेलको उम्मेदवारी आयोगले रद्द गरिदिएको छ ।
कँडेल निवर्तमान केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री समेत हुन् । थापा सुनवल नगरपालिकाका पूर्व मेयर हुन् । नेपाली कांग्रेसबाट सातौं पटक उम्मेदवार हुने तयारी गरेका कँडेल ढिलो गरी दर्ता गराउँदा उम्मेदवारी रद्द भएको हो ।
यसअघि भएका ६ वटा निर्वाचन मध्ये २०५१, २०५६ र २०७४ मा जीत हासिल गरेका थिए । उनी २०७९ को चुनावमा राप्रपाका धुव्रबहादुर प्रधानसँग १६ हजार बढी मतले पराजित भएका थिए । कँडेल २०६४ र २०७० सालको निर्वाचनमासमेत पराजित भएका थिए ।








