काठमाडौं,७ माघ ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएकोले मन्त्रीबाट राजिनामा दिएर चुनावमा हाेमिएकाे बताएका छन् ।

मन्त्रीबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका पुनले ती अध्यादेश र नियमावली स्वीकार गरिएको भए आफू चुनाव लडिरहेको स्थितिमा नहुने दाबी गरेका छन् ।

“शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधायन समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएन,” पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तिम घडीसम्म कोसिस गर्दा पनि केही सीप नलागेपछि अचानक आफू निर्वाचनमा होमिएको उनले बताएका छन् । “एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्यसचिवले अलमल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” उनले भनेका छन् ।

आफू म्याग्दीको मुनागाउँतिर चुनाव प्रचार गर्न हिँडेको पनि उनले उल्लेख गरेका छन् । त्यसपछिका अरू पोस्टमा उनले मुनागाउँतिर जाँदै गरेको भन्दै भिडियो सेयर गरेका छन् ।