बुटवल,७ माघ ।
श्रम संस्कृति पार्टी रुपन्देहीकी अध्यक्ष तथा प्रदेश सह–संयोजक सुशीला पुलामी मगरले पार्टीमा पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

पार्टीको हालको कार्यशैली र निर्णय प्रक्रिया श्रम संस्कृति र सामूहिक नेतृत्वको भावना विपरीत भएको भन्दै पार्टी परित्याग गरि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको उनलेे बताइन् । उनलेे अब स्वतन्त्र रूपमा चुनावमा जाने बताएकी छन् ।

मगरले पार्टीभित्र लामो समयदेखि व्यक्तिकेन्द्रित निर्णय, असहमतिको कदर नहुने अवस्था र श्रमजीवी वर्गका मुद्दा ओझेलमा पर्दै गएको अनुभव भएको बताइन् । यस्तो अवस्थाले राजनीतिक उद्देश्यभन्दा ब्यक्तिगत स्वार्थ हाबी भएको भन्दै उनले पार्टीसँगको सम्बन्ध तोड्ने निर्णय लिएको जनाएकी छिन् ।

उनी यसअघि नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी थिइन् । स्वतन्त्र उम्मेदवारीमार्फत जनताका वास्तविक समस्या र श्रमजीवी वर्गका मुद्दालाई प्राथमिकताका साथ उठाउने उनको भनाइ छ ।

ठूला र पुराना दलहरूमा लामो समय क्रियाशील रहेका केही दलका नेताहरूले चुनावमा टिकट नपाएपछि बिद्रोह गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिने गरेकोमा हालसालै गठन भएका नयाँ दलहरूमा समेत बिद्रोहकाे लहर चलेको हो ।

रूपन्देहीको निर्वाचन क्षेत्र नं २ मा मात्रै २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।