पाल्पा,७ माघ ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित रिडी–खर्ज्याङ सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
बुधबार दिउँसो पाल्पाको रिब्दिकाेट गाउँपालिका जाेगिथुमबाट मलामी लिएर रिडी घाटतर्फ जाँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमाल रहेका छन् ।
दुर्घटनामा घाइतेहरूकाे उद्धार गरी उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएकोमा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । सारुका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








