काठमाडौ,६ माघ ।
अन्ततोगत्वा नेपाली कांग्रेस (बिपी) पनि चुनावमा सहभागी नहुने भएको छ ।
साेमबार बसेकाे पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पाैडेलले जानकारी दिए ।
पार्टीले त्यस सम्बन्धि निर्वाचन आयोगलाई जानकारी गराइसकेको समेत महामन्त्री पाैडेलले बताए ।
‘जेन-जी’ आन्दोलन पश्चात् कार्की सरकारद्वारा प्रतिनिधि सभा विघटन गरिएको वर्तमान तरल राजनीतिक अवस्थामा निर्वाचन नै निकासको बाटो भए तापनि, विद्यमान परिस्थितिको सूक्ष्म विश्लेषण गर्दा अहिलेकाे निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष निकाल्दै तत्काल निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको साे पार्टीले जनाएको छ ।
निर्वाचन आयोगद्वारा प्रकाशित तालिका अनुसार आगामी २०८२ फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि २०८२ माघ ६ गते हुने उम्मेदवार मनोनयनमा आफ्नो पार्टीका तर्फबाट कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिने निर्णय भएको जनाइएको छ ।
यस्ता छन् निर्वाचनमा सहभागी नहुनुका मुख्य आधारहरू :
१. देशमा अझै निर्वाचनको अनुकूल वातावरण र जनलहर सिर्जना नभएको ।
२. प्रमुख राष्ट्रिय दलहरूमा आएको फुट र विभाजनले राजनीतिक अस्थिरता बढाएको ।
३. राजनीतिक दलको फुट सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्था ।
४. निर्वाचनमा ठूला र नयाँ भनिएका दलहरूबाट हुन सक्ने ठूलो अस्वस्थ आर्थिक चलखेलको उच्च जोखिम ।
५. वर्तमान निर्वाचन प्रणाली र राजनीतिक खिचातानीका कारण निर्वाचन पश्चात् पनि राजनीतिक निकास ननिस्कने सुनिश्चितता ।
६. राज्यको सुरक्षा घेराबाट भागेका फरार कैदीहरूलाई सरकारले नियन्त्रणमा लिन नसक्नु ।
७. उम्मेदवार तथा निर्वाचन क्षेत्रहरूमा शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति नहुनु ।
८. आन्दोलनका क्रममा लुटिएका हतियारहरू अझैसम्म सरकारले बरामद गर्न नसक्नु ।
९. मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने र सुरक्षित रूपमा फर्कने सुनिश्चितताको अभाव ।
१०. निर्वाचन पश्चात् बन्ने संसद् पुनः अल्पमत र बहुमतको खेलमा पुर्ण फस्ने तथा ६ महिनाभित्रै मध्यावधि निर्वाचनमा जानुपर्ने प्रबल सम्भावना देखिनु ।








