बुटवल,५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीका ५ वटै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

रूपन्देही क्षेत्र नं १ मा पार्टी महामन्त्रीसमेत रहेका सुनिल लम्साल,२ मा इन्जिनियर आशिष सुवेदी, क्षेत्र नं ३ मा डाक्टर लेखजंग थापा, ४ मा कन्हैया बानिया र ५ मा तौफिक अहमद खान उम्मेदवार बन्ने भएका छन् ।

रास्वपाले यसअघि उपनिर्वाचनमा क्षेत्र नं ३ मा टिकट दिएका डा. लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । क्षेत्र नं १ मा टिकट पाएका लम्साल बालेन शाह काठमाडौंका मेयर हुंदा उनको सचिवालयमा काम गरेका थिए ।

क्षेत्र नं २ मा टिकट पाएका सुवेदी पुर्व माओवादी कार्यकर्ता हुन् । उनी अखिल क्रान्तिकारीमा क्रियाशील थिए । पछिल्लो समय उनी हङकङमा बस्दै आएका थिए ।

क्षेत्र नं ४ मा टिकट पाएका बानिया लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नं ५ मा टिकट पाएका खान भैरहवा निवासी हुन् । उनी निर्माण व्यवसायी परिवारका सदस्य हुन् ।

क्षेत्र नं ५ बाट पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्मा पनि आकांक्षी थिए । क्षेत्र नं १ ,२ र ५ का उम्मेदवार रास्वपा वरिष्ठ नेता बालेन शाहको कोटाबाट उम्मेदवार बनेकाे बताइएको छ । टिकट वितरणप्रति विशेषगरी क्षेत्र नं २ र ५ मा पार्टी नेता कार्यकर्ताहरुमा व्यापाक असन्तुष्टी देखिएको छ ।

पार्टीभित्रको असन्तुष्टीका कारण पार्टीले उम्मेदवार सार्वजनिक नगरेको तर टिकट वितरण गरिसकेको रास्वपा रुपन्देहीका एक पदाधिकारीले बताए ।

रास्वपा स्थापनाकालदेखि खटेर पार्टीलाई स्थापित गरेका नेताहरुलाई अन्याय भएको केही आकांक्षीकाे गुनासो गरे । टिकट बितरणमा पार्टीको क्षेत्रीय र जिल्ला समितिसँग कुनै परामर्श नगरी केन्द्र मात्रै हावी भएको उनिहरूकाे गुनासो छ ।