बुटवल,२ माघ ।
आगामी फागुन २१ गतेकाे चुनाव बहिष्कारको घाेषणा गरेका ६ कम्युनिस्ट पार्टीले बुटवलमा बिराेध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ ।

चुनाव बहिष्कारका लागि गठित जिल्ला संयुक्त संघर्ष समिति रूपन्देहीद्वारा साेमबार बुटवलकाे अस्पताललाइनमा बिराेध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको हो ।
जनसभालाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी ब्युरो इन्चार्ज प्रेम सुवेदीले अहिले चुनावमा सहभागी हुनु भनेको प्रतिक्रियावादीहरूकाे साक्षी बस्नुबाहेक अन्य कुनै उपलब्धि नहुने भन्दै चुनाव बहिष्कारको विकल्प नभएको बताए ।
चुनावले मुलुकलाई निकास दिन नसक्ने भन्दै उनलेे
साम्राज्यवादकाे डिजाइनमा हुन लागेको संसदीय निर्वाचन जनस्तरबाटै बहिष्कार गर्नुपर्नेमा जाेड दिए ।
फागुन २१ मा चुनाव हुन नसक्ने बताउँदै आएका कांग्रेस एमालेलगायतका दलहरू पनि पछिल्लो समय साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिका सामु झुकेर चुनावमा जान तयार भएको आराेप लगाउँदै नेता सुवेदीले हाल ६ कम्युनिस्ट घटक चुनाव बहिष्कारको पक्षमा रहे पनि त्यो संख्या बिस्तारै बढ्दै जाने दाबी गरे ।
२०८४ सालमा हुने संसदीय निर्वाचन २०८२ मा गर्नका लागि जेनजी युवाहरूको बिद्रोह नभएको भन्दै उनलेे फागुन २१ गतेका लागि ताेकिएकाे निर्वाचनमा सहभागी हुनु भनेको साम्राज्यवादी शक्तिको इसारामा बनेको दलाल सत्ताको निरन्तरताको साक्षी बस्नु मात्रै भएको टिप्पणी गरे ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय संयोजक नारायण शर्मालगायतले चुनाव बहिष्कार गर्नुपर्नाका कारणबारे धारणा राखेका थिए ।
चुनाव बहिष्कारको घाेषणा गरेको संयुक्त संघर्ष समितिले साेमबार चुनावको बिराेधमा देशब्यापी प्रदर्शन तथा जनसभा सम्पन्न गरेको जनाइएको छ ।








