काठमाडौं,५ माघ ।
नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
निर्वाचनकाे मिति नजिकिँदै गएका बेला प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।
एसपीहरु प्रदिप बहादुर क्षेत्री,जनक बहादुर शाही, अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको छ ।
रूपन्देहीका प्रदिप बहादुर क्षेत्रीलाई प्रदेश प्रहरी कार्यालय पर्सा अपराध अनुसन्धान शाखा र लागु औषध नियन्त्रण ब्युरो काठमाडौंमा कार्यरत जनक बहादुर शाहीलाई रूपन्देही सरूवा गरिएको छ ।
एसपी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।
चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्कालाई लगिएको छ । उनी बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा थिइन् ।
प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको जनाएको हो ।
विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ । आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएकाले त्यसअगावै प्रहरीले जिल्ला तथा विभागहरूमा कमाण्डर हेरफेर गरेको हो ।
प्रधान कार्यालयले सरुवा भएका एसपीहरूको अभिलेखमा आवश्यक व्यहोरा जनाउन र आवश्यक कारबाही अगाडि बढाउन मातहतका सम्बन्धित कार्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ ।








