बुटवल,३ माघ ।
नेपाली कांग्रेस रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ क्षत्रिय समितिले
सबै एक साथ,एकताबद्ध भएर अघि बढ्नु प्राथमिक आवस्यकता बनेको जनाएको छ ।
निर्वाचन आयोगले बिशेष महाधिवेशनलाई बैध ठहर गर्दै नयाँ नेतृत्वलाई मान्यता दिएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै क्षत्रिय समितिले बिशेष महाधिवेशनले सन्चार गरेको सकारात्मक सन्देश र निर्वाचन आयोगले समेत नेपालको प्रचलित ऐन, कानुन अनुसार बिशेष महाधिवेशनलाई बैध ठहर गर्दै नयाँ नेतृत्वलाई मान्यता र अद्यावधि समेत गरिसकेको अवस्थामा सबै एक साथ, एकताबद्ध भएर अघि बढ्नु प्राथमिक आवस्यकता बनेको जनाएको हो ।
नेपाली कांग्रेस रूपन्देही निर्वाचन क्षेत्र नं २ क्षत्रिय समितिका सभापति प्रजापाल गिरी,सचिव बिमलराज भट्टराई तथा निर्वाचन क्षेत्र नं २ (१) का सभापति खड्गबहादुर महत र क्षेत्र नं २ (२) का कार्यबाहक सभापति चिन्तामणी भुसालले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आयोगले बिशेष महाधिवेशनलाई बैध ठहर गर्दै नयाँ नेतृत्वलाई मान्यता दिइसकेको अवस्थामा अब सबै एक साथ, एकताबद्ध भएर अघि बढ्नु प्राथमिक आवस्यकता बनेको भन्दै
यसलाई अब हामी सबै पार्टी सदस्यले जय र पराजयको बिषय नबनाई फाल्गुण २१ गते सम्पन्न हुन गैरहेको आम निर्वाचनतर्फ केन्द्रीत हुनुपर्नेमा जाेड दिएको छ ।
नेपाली काँग्रेसको बिधान २०१७ (संसोधन सहित) को धारा १७(२) को वाध्यकारी व्यवस्था अनुसार २०८२ पौष २७,२८,२९ र ३० गते दोश्रो बिशेष महाधिवेशन काठमाण्डौमा सम्पन्न भैसकेको छ । महाधिवेशनले देशको मौजुदा परिस्थितिमा पार्टिले लिनुपर्ने अग्रसरतालाई आत्मवोध गर्दै बृहत छलफलका माध्यमबाट वर्तमान अन्योलतामा नागरिकलाई भरोसा जागृत गर्दै जनताको भरोसायोग्य पार्टि निर्माण गर्ने नीति,नेतृत्व र नयाँ संकल्पका साथ महाधिवेशन सम्पन्न गरेको जनाउँदै विज्ञप्तिमा नेपाली काँग्रेसको गौरवशाली इतिहासलाई अक्षुण राख्नु हामी सबैको कर्तब्य हो भने भरोसायोग्य वर्तमान र उज्ज्वल भविष्य निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।
लोकतन्त्रका खातिर शहादत भएका वीर शहीदहरुको बलिदानी, पार्टी स्थापनाकाल देखि हालसम्मका अग्रज नेताहरुको त्याग, समर्पण, योगदान र पार्टी सदस्यहरुको कृयाशिलता हाम्रो पुँजि भएको उल्लेख गर्दै विज्ञप्तिमा यहि विराट जगमा उभिएर समुन्नत नेपाल र सम्मानित नेपाली निर्माणको महाअभियानलाई सफल बनाउनु हामी सबैको दायित्व र कर्तव्य भएकोले यस दिशातर्फ उन्मुख रहन सबैमा हार्दिक अपिल गरिएकाे छ ।









