नवलपरासी,३ माघ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-११ आश्रम चोकमा भ्यान र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर शुक्रबार साँझ ठोक्किंदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

घाइते मध्ये स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका-८ घर भई हाल देवचुली नगरपालिका-९ मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवार देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।