बुटवल,३ माघ ।
रुपन्देहीको देवदहमा सञ्चालित देवदह महाेत्सवमा नियम बिपरित मदिराको काराेबार भएको पाइएको छ ।
महोत्सवको एक होटलकाे स्टलमा लुकाइछिपाइ राखिएको मदिरा बरामद भएको हो । आयोजक र खैरेनी प्रहरी चौकीको संयुक्त अनुगमनका क्रममा मदिराजन्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मेलाका अनुगमन उपसमिति संयोजक परशुराम कंडेलले शुक्रवार अनुगमनका क्रममा मेला परिसरभित्र लुकाइछिपाइ राखिएको मदिरा फेला पारेपछि नियन्त्रणमा लिइएको बताए । अनुगमनका क्रममा ४५ थान अर्ना बियर, ४८ थान गोर्खा बियर तथा विभिन्न ब्रान्डका ४९ थान मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
मेलामा मदिरा सेवन तथा बिक्री निषेध गरिएको भए पनि केही होटेलहरुले नियम उल्लङ्घन गर्दै मदिरा भित्र्याएको पाइएपछि बरामद गरिएको आयोजककाे भनाइ छ ।








