बुटवल,२ माघ ।
आगामी फागुन २१ गतेकाे चुनाव बहिष्कारको घाेषणा गरेका ६ कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार अभियान ससक्त बनाउनुपर्नेमा जाेड दिएका छन् ।

जिल्ला संयुक्त संघर्ष समिति रूपन्देहीद्वारा फागुन २१ गतेकाे संसदीय निर्वाचन बहिष्कारको सन्दर्भमा शुक्रबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने कम्युनिस्ट पार्टीका नेताहरूले साम्राज्यवादकाे डिजाइनमा हुन लागेको संसदीय निर्वाचन बहिष्कार गर्नुको विकल्प नभएको भन्दै चुनाव बहिष्कार अभियानलाई थप ससक्त र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिएका हुन् ।

२०८४ सालमा हुने संसदीय निर्वाचन २०८२ मा गर्नका लागि जेनजी युवाहरूको बिद्रोह नभएको दाबी गर्दै उनिहरूले फागुन २१ गतेका लागि ताेकिएकाे निर्वाचनमा सहभागी हुनु भनेको साम्राज्यवादी शक्तिको इसारामा बनेको दलाल सत्ताको निरन्तरताको साक्षी बस्नु मात्रै भएको टिप्पणी गरे ।

कम्युनिस्ट क्रान्तिकारीहरूका लागि संसदीय निर्वाचन सधै बहिष्कारकाे बिषय हुँदाहुँदै पनि बिगतमा केही कम्युनिस्ट घटकहरूले बहिष्कार त केहीले उपयोग गर्दै आएको स्मरण गर्दै उनिहरूले संसदीय ब्यवस्थाको भण्डाफाेर गर्न संसदमा पुगेका कम्युनिस्टहरू आफै भण्डाफाेरमा परेकाे दाबी गरे ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले फागुन २१ गतेको चुनाव नेपाली श्रमजीवी जनताको आवश्यकताले नभएर दलाल सत्ताको बैधानिकताका लागि भएकोले चुनाव बहिष्कार तथा भण्डाफाेर गर्नुको विकल्प नभएको बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी ब्युरो इन्चार्ज प्रेम सुवेदीले अहिले चुनावमा सहभागी हुनु भनेको प्रतिक्रियावादीहरूकाे साक्षी बस्नुबाहेक अन्य कुनै उपलब्धि नहुने दाबी गर्दै चुनाव बहिष्कारको विकल्प नभएको बताए । चुनावमा सहभागी हुन तयार रहेका दलहरू पनि फागुन २१ काे चुनाव हुनेमा विश्वस्त नभएको भन्दै उनलेे हाल ६ कम्युनिस्ट घटक चुनाव बहिष्कारको पक्षमा रहे पनि त्यो संख्या बिस्तारै बढ्दै जाने दाबी गरे ।

जिल्ला संयुक्त संघर्ष समिति रूपन्देहीका संयोजक लक्ष्मीकान्त पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य साेम बहादुर गुरूङ,क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय संयोजक नारायण शर्मा,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रबी पाण्डे,बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य शशि बिश्वकर्मा,नेकपा बहुमतकि नेतृ रेखा खनाल,राष्ट्रिय स्वाधीनताका लागि नागरिक समाजका अध्यक्ष पदम कार्की,बाम बुद्धिजीवी बिनबहादुर कुँवर,जिवलाल पन्थीलगायतले चुनाव बहिष्कारको घाेषणा गरेर मात्रै नहुने भन्दै ससक्त बहिष्कारको कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिएका थिए ।

संयुक्त संघर्ष समितिले यही माघ ५ गते बुटवलसहित देशका मुख्य मुख्य शहरमा चुनाव बहिष्कारका लागि जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको जिल्ला संयुक्त संघर्ष समिति रूपन्देहीका सदस्य बाबुराम आचार्यले जानकारी दिए ।