काठमाडौ,१ माघ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू नयाँ कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन् ।

ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि सभापति गगन थापाको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका हुन् । सभापति गगन थापासँगै उपसभापति विश्वप्रकाश शर्मा पनि आयोगमा पुगेका थिए ।

पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको नाम हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पहिलो केन्द्रीय समिति बैठकबाट भएको छ । उक्त निर्णयको जानकारी पनि निर्वाचन आयोगलाई दिइएकाे छ ।

पहिलो केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ । प्रवक्ता चालिसेले बैठकको निर्णय सुनाउँदै आवश्यक विवरण अध्यावधिक गराउने तयारी भएको जानकारी दिए ।

उनले शेरबहादुर देउवाको ठाउँमा गगन थापाको हस्ताक्षर राखिने बताए ।

‘पार्टीको दोस्रो विशेष महाधिवेशन पछि निर्वाचन आयोगमा हिजोका अभिलेखलाई आवधिक गर्न जेजति निर्णय घटनाक्रम भएका छन् । त्यसलाई अपडेट गर्दै लाने हाम्रो निर्णय भएको छ,’ उनले भने, ‘उम्मेदवारहरूका लागि हस्ताक्षर परिवर्तन गर्ने, समानुपातिक सूचीमा संशोधन गर्ने, दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता गर्ने लगायत निर्वाचन आयोगमा बाँकी कानुनी दायित्व पूरा गर्ने निर्णय भएको छ ।’